अर्जुनधारा । सिस्ने कृषि सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा १ को नमुना बजारमा आयोजित बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अथिति अर्जुनधारा १ का वडाअध्यक्ष उपेन्द्र बस्नेतले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिसागर ढुङ्गेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल संस्थाको सेयर पुँजि ७१ लाख २२ हजार ८ सय रहेको अध्यक्ष ढुङ्गेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । गत अ.व. २०७८/२०७९मा ३२ लाख २ हजार ९ सय ६४ रुपैयाँ रहेको सदस्यहरुको बचत अ.व. २०७९/२०८० मा ४७ लाख ५५ हजार ४ सय ५९ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले अ.व. २०७९/२०८० मा ४२ हजार ८ सय ८८ रुपैयाँ नाफा कमाएको अध्यक्ष ढुङ्गेलले बताउनुभयो । संस्थाले गत आर्थिक बर्षमा १२ कठ्ठा जग्गा खरिद गरेको उहाँले जानकारी दिनुभयो ।
शेयर, बचत र ऋण लगानीका क्षेत्रमा गरिएका कामहरुको बिषयमा अध्यक्ष ढुङगेलले जानकारी गराउनु भएको थियो । उहाँले मल, बिउ–बिजन बिक्रि–बितरण, जग्गाको प्रभावकारी प्रयोग, स्वरोजगारकोषका लागि स्रोत व्यवस्थापन, सदस्य कल्याणकोष संचालन, सदस्यहरुको जिवन विमा लगायतका बिषयमा भएका काम र आगमी योजनाको जानकारी गराउनु भएको थियो । नेपाल सरकारका निकायसंग भएका पहल तथा आगामी योजनाको बारेमा समेत उहाँले आफ्नो भनाई राख्नुभएको थियो ।
१२ औं साधारणसभाले सहकारीको विनियम लेखन र कार्यबिधि निर्माणका लागि ७ सदसीय कार्यदल गठन गरेको छ । संचालक समिति अध्यक्ष ढुङगेलको संयोजकत्वमा गठन भएको कार्यदलका सदस्यहरुमा सुवास मिश्र, बिष्णुप्रसाद ढकाल, भद्रा घिमिरे, हेम लम्साल, चन्द्र खत्री र तुलसा पोखेरल चयन हुनुभएको छ । कार्यदलले सहकारीको विनियम लेखन, बचत तथा ऋण परिचालन कार्यबिधि, कर्मचारी प्रशासन कार्यबिधि, मलखाद बिउ–बिजन कार्यबिधि, बिमा संचालन कार्यबिधि र सदस्य राहतकोष कार्यबिधि लगायत निर्माण तथा परिमार्जनका लागि कार्य गर्ने बताइएको छ ।
सधारणसभाको अवसरमा जग्गादाता जयप्रसाद प्रसाईकी श्रीमती प्रेमकुमारी प्रसाईलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट निक्षेप कर्ता दैनिक बचत तर्फ सविना दाहाल ओझा र मासिक बचत तर्फ अम्बिका प्रसाद रिजाल, असल ऋणी रुक्मा नेपालीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उनिहरुलाई कृषि औजार समेत प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाकी पूर्व कर्मचारी तारा घिमिरेलाई प्रशंसापत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष र प्रमुख अथिति लगायत अथितिहरुले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
साधारणसभामा प्रमुख अतिथि वडाअध्यक्ष बस्नेत, हचुमासा सामुदायीक वन समुहका अध्यक्ष चन्द्रप्रसाद प्रसाई, अर्जुनधारा १ की वडासदस्य इन्दिरा राम्दाङ, सानाकिसान सहकारी संस्था खुदुनाबारीका उपाध्यक्ष नन्दलाल खनाल र सयपत्री यूवा समुहका अध्यक्ष पवन खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो । लेखा संयोजक सुवासचन्द्र मिश्रले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक डि.बि. दर्नालले गर्नुभएको थियो ।
साधारणसभामा सहकारीका पूर्व अध्यक्ष नयन अधिकारी, संस्थापक रामबहादुर निरौला, अर्जुनधारा १ का वडासदस्यहरु मुना खत्री, मदन लिमेल मगर, पूर्व वडाअध्यक्ष गजाधर खतिवडा, पूर्व वडासदस्य माधव आचार्य, नमुना बजार व्यवस्थापन समिति अध्यक्ष पदम निरौला लगायतका अतिथिहरु र संस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।