झापा इनर्जीको सौर्य उर्जा परियोजना संचालनको अन्तिम तयारीमा

झापा । सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ झापा इनर्जीले झापामा सुरु गरेको परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका ४ मा रहेको सौर्य उर्जाको प्लान्ट संचालनकालागि अन्तिम तयारी भईरहेको हो ।परियोजनामा प्यानल राख्ने बाहेकका सबै काम सम्पन्न भइसकेको छ । अब, प्यानल राखेर उत्पादन हुने १० मेगावाट विधुत नेपाल विधुत प्राधिकरणको ग्रिडमा जडान गरिनेछ तयारी छ ।


परियोजना स्थलमा हाल सोलार प्यानल अनलोडको काम सुरु भएको छ । पहिलो चरणमा १० लहरी सोलार प्यानल आइसकेको प्रवन्ध संचालक सुवास भट्टराईले जानकारी दिनुभयो । ३५ लहरीमा २२ हजार ६ सय प्यानल परियोजना स्थलमा आउने क्रममा रहेको उहाँले बताउनुभयो । अनलोड भएका प्यानलहरु धमाधम जडान गरेर उत्पादन सुरु गरिने बताइएको छ । परियोजनाबाट अबको डेढ महिनामा उर्जा उत्पादन सुरु हुने भट्टराईले जानकारी दिनुभयो ।


परियोजनाका सिभिल इञ्जिनियर अभिषेक पराजुलीले दुई ठाउँ इन्भर्टर राख्ने, ग्रिडमा उर्जा पुराउने संरचना र भूमिगत रुपमा हुनुपर्ने सबै प्रकारका काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँले प्यानल जोड्ने बाहेक ९९ प्रतिशत काम सकिएको प्रतिक्रया दिए । उहाँका अनुसार प्यानल जोड्ने काम तुरुन्तै सुरु हुनेछ । ४८ सय वटा पिलर र ८ सय १९ वटा टेबलबाट १२ मेगावटको डिसि बिजुली उत्पादन हुने र त्यसलाई एसिमा परिमार्जन गर्दा १० मेगावटको एसी बिजुली हुने पराजुलीले बताउनुभयो । सौर्य उर्जा उत्पादनका लागि २२ हजार ६ सय प्यानल सोलार जडान हुने छ । कुल ७९ करोड ८० लाख लागत रहेको परियोजनामा सर्वसाधरणको २२ करोड र बाँकी रकम बैंकहरु मार्फत लगानी गरिएको छ ।

परियोजना निरीक्षण गर्दै बिर्तामोड नगर प्रमुख एवम् सञ्चालक पवित्रा महतारा प्रसाईले परियोजना संवृद्ध राष्ट्र निर्माणको आधार भएको बताउनुभयो । उहाले राष्ट्रलाई नागरिकको तहबाट उर्जामा योगदान गर्न परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो । परियोजनालाई सोलार टुरिजम र कृषि टुरिजमको रुपमा समेत विकास गरिने बताइएको छ ।

नेपाल विद्युत प्राधिकरण र झापा इनर्जीबीच विद्युत खरिदका लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ । आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक रु.१२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ । करिव २१ विगाह जमिन क्षेत्रफलमा सौर्य उर्जा उत्पादन परियोजना संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय