सिम्रिकको माइन्युट प्रमाणित सभा सम्पन्न, १ करोड ६४ लाख शेयर बोनस बाढ्ने

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु माझ सबै इकाईका माइन्युट पढीबाची मूल माइन्युट तयार गरेर अन्तिम माइन्युट प्रमाणित गरिएको हो ।


संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभा सम्पन्न गरिएको हो । सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख प्रसाईंले नेपालको सहकारी अभियानले हाम्रो समाजमा सकारात्मक आर्थिक टेवा पुगिरहेको बताउनुभयो । सिम्रिक साकोमा सक्षम सञ्चालक र लगनशील कर्मचारीहरु रहेकै कारण निरन्तर प्रगतिपथमा रहेको भन्दै नगरप्रमुख प्रसाईंले सहकारीको ऋण तिर्न पर्दैन भनी हिंड्नेहरुसँग सजग र सचेत रहन अभियानलाई आग्रह गर्नुभएको थियो ।

अन्तिम माइन्युट प्रमाणित साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले झापा जिल्लाका ५ वटा गाविसलाई कार्यक्षेत्र बनाएर २०६७ सालमा स्थापना गरिएको सिम्रिक साकोसले १३ वर्षको अवधिमा चारवटा जिल्लामा कारोबार गर्न पाउने भएको बताउनुभयो । संस्थाको कोशी प्रदेशका चारवटा जिल्ला झापा, इलाम, पाँचथर र मोरङमा कार्यक्षेत्र विस्तारित छ । उहाँले ५५ जनाले सुरु गरेको संस्थामा गत असार मसान्तमा ५९ हजार २६३ जना सेयर सदस्यहरु पुर्याइएको जानकारी दिनुभयो । प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष भट्टराईले सिम्रिक साकोसले समीक्षा वर्षमा ११ दशमलव ६४ प्रतिशतले वासलात वृद्धि गरी २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँको बनाएको जानकारी दिनुभयो । संस्थाले सेयर सदस्य वृद्धिमा लक्ष्यको ६५ प्रतिशत हासिल गरेको भए पनि सेयर पुँजी ७ लाख ४० हजार २०० रुपैयाँ घटेको प्रतिवेदनमा उल्लेख छ ।


आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धी हासिल नभए पनि सिम्रिक साकोसले आफ्ना सबै सेयर सदस्यहरुलाई ६ दशमलव ८३ प्रतिशत अर्थाथ् १ करोड ६४ लाख ७० हजार ५५७ रुपैयाँ ४२ पैसा शेयर बोनस वितरण गर्ने अध्यक्ष भट्टराईले बताउनुभयो । संस्थामा सक्रिय कारोबार गर्ने सदस्यहरुलाई ९२ लाख ११ हजार ७२१ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता गरिने पनि उहाँले जानकारी दिनुभयो ।

माइन्युट प्रमाणित साधारणसभामा स्वागत गर्दै कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सहकारी ऐन एवम् मापदण्ड तथा नियामक निकायको निर्देशनलाई ध्यान दिएर छानिएर आएका प्रतिनिधिहरु बीच माइन्युट प्रमाणित साधारणसभा गरिएको बताउनुभयो । तरलता अभावको कठिन मोडमा पनि सिम्रिक साकोसले आफ्ना सेयर सदस्यहरुलाई माग गरेको समयमा बिलम्ब नगरी कर्जा उपलब्ध गराएको उहाँले बताउनुभयो । संस्थाले वितेको एक वर्षमा मात्रै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३७५ रुपैयाँ खर्च गरेको उहाँले बताउनुभयो ।

कर्मचारी, पत्रकार र सेयर सदस्य पुरस्कृत

साधारण सभाको अवसरमा संस्थामा लामो समय काम गरेर स्वेच्छिक अवकास लिएकी अधिकृत कर्मचारी दुर्गा पौडेललाई दुई लाख २५ हजार रुपैयाँसहित कदर पत्र प्रदान गरेर विदाई गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख प्रसाईं, संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख बस्नेतसहित अतिथिहरुले खादा ओढाएर प्रमाणपत्र र नगद प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका तीनजना शाखा प्रमुखहरुलाई जनही २० हजार रुपैयाँ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । झापा जिल्लाका २७ वटा सेवाकेन्द्रहरु मध्ये मेचीनगरको धुलाबारीमा रहेको सेवा केन्द्रका प्रमुख अञ्जु प्रधान, इलाम जिल्लाका १२ वटा सेवा केन्द्रहरुमध्ये नेपालटार सेवा केन्द्र प्रमुख तीर्थराज सुवेदी र मोरङ जिल्लाका १० वटा सेवा केन्द्रहरु मध्ये लेटाङ सेवाकेन्द्रका प्रमुख मोहन घिमिरेलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो ।

यस्तै झापाका दुई क्रियाशील पत्रकारहरु मेचीनगरका लक्ष्मी उप्रेती र दमकका युवराज विवशलाई जनही १० हजार रुपैयाँसहित उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यसैगरी सेयर सदस्य मित्रप्रसाद घिमिरेलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । माइन्युट प्रमाणित साधारणसभाको सञ्चालन संस्थाका विभागीय प्रमुख प्रेम बस्नेत(विजय)ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय