बाहुण्डाँगीको हात्ती समस्या : राज्य अझै गम्भिर हुन सकेन

बाहुण्डाँगी । झापाको मेचीनगर नगरपालिकाका १,२,३ र ४ नम्बर वडा क्षेत्रका नागरिकले बर्षोदेखि हात्ती आतंक खेपिरहेका छन् । वि.स. २०३४ साल यता पटक-पटक हात्तीले मानवीय क्षति समेत गरेको छ । कृषकको बालिनालीमा हात्ती चर्ने, खेल्ने, रमाउने र उपध्रो गर्ने कार्य यस क्षेत्रको लागि नौलो होइन् ।


साबिक बाहुण्डाँगी गाविस क्षेत्रमा प्राय दैनिजसो हत्तीले दुःख दिने गरेको छ । दिनभर भारतीय जंगलमा बस्ने र साँझ परेपछि मेची नदी पार गर्दै नपाली भु-भागमा चर्न आउने हात्तीको दैनिक कार्यसूची जस्तै बनेको छ । दैनिक सयौंको संख्यामा भारतबाट आउने हात्तीबाट अन्नबाली र मानवीय क्षती हुनबाट जोगाउन यहाँका नागरिक रातभर जागै बस्नुपर्ने बाध्यता  बनेको छ ।

हात्ती आतंकले हैरान भएका बाहुण्डाँगी बासीन्दाको व्यथा झापामा मात्रै हैन् मुलुकभर नै चर्चा चल्ने गरेको छ । तर यो समस्या समाधानकालागि राज्य स्तरबाट कुनै ठोस काम भने हुन सकेको छैन् । चुनावी मुख्य एजेण्डा बन्ने हात्ती समस्या चुनावको नतिजा आइसक्दा भने सेलाउने पुरानै नियती बाहुण्डाँगी बाँसीले भोग्नुपरेको छ । राज्यले समस्या समाधानमा झारो टार्ने बाहेक विकल्प दिन नसक्दा मानव हात्तीद्वन्द निरन्तर चलिरहेकै छ ।


यसैबिच मानव हात्ती द्धन्द न्युनीकरणका लागि माथिलो सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उदेश्यकासाथ संधैजसो हात्ती आउने स्थानमा बिहिबार पत्रकार सम्मेलनको आयोजन गर्दै पछिल्लो अवस्था र समस्याका बिषयमा जानकारी गराइएको थियो । लामो समयदेखि मानव हात्ती द्वन्द न्युनिकरण अभियान्ता तथा मेचीनगर वडा नं. ४ का वडाअध्यक्ष अर्जुनकुमार कार्कीको नेतृत्वमा आयोजित हात्तीसंग पत्रकार कार्यक्रममा हात्ती द्वन्द भोगिरहेका कृषक तथा सरोकारवालाहरुले आफ्ना समस्या र भोगाई राखेका थिए ।

कार्यक्रममा कृषक शंखर लुईटेलले हात्ती पीडित जनतामाथी राज्यले विभेद गरेको बताउनुभयो । हात्ती समस्या समाधानमा उदासीन बनेको केन्द्र सरकार राहत बितरणमा समेत विभेदपूर्ण देखिएको उहाँको गुनाँसो थियो । पत्रकार समम्मेलनमा उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा समक्ष आफ्ना कुराहरु पुर्याइदिन माग गर्दै उहाँले समस्या सुनाउनुभएको थियो । लुईटेलले ऐलानी जग्गा भोगचल गरिरहेका कृषकहरुलाई हात्तीले क्षती गर्दा समेत सरकारले राहात नदिएको बताउनुभयो । उहाँले संघिय सरकारको राहात नीति नै गलत भएको भन्दै परिवर्तनको माग गर्नुभयो । सुपारी, बाँस, अलैँची, अम्रिसो लगायतका नगदेवालीहरुको क्षतीमा समेत सरकारले कृषकहरुलाई राहात नदिएको उहाँको भनाई थियो ।

कार्यक्रममा वडाअध्यक्ष कार्कीले स्थानीय सरकारले मात्रै हात्ती समस्याको समाधान गर्न नसक्ने बताउनुभयो । हात्ती समस्यालाई हालसम्म पनि विपतको रुपमा राज्यले बुझ्न नसक्नु बिडम्वना भएको उहाँले बताउनुभयो । वडाअध्यक्ष कार्कीले आफु पनि राज्यको तल्लो अंग भएको बताउदै सरकारको तल्लो अंगले नै माथीले निकायलाई ध्यानाकर्षण गराउनु पर्ने अवस्थाको सिर्जना भएकाले पनि पत्रकार सम्मेलनको आयोजना गरेको बताउनुभयो । उहाँले वडा र पालिका स्तरबाटमात्रै समस्या समाधानकालागि लगानी गर्न सकिने अवस्था नभएको भन्दै बाहुण्डाँगी क्षेत्रको हात्ती समस्या समाधानमा राज्य गम्भिर हुनुपर्ने बताउनुभयो । कार्कीले बर्दीयाको उज्यालो नेपाल नामक संस्थाले घर विमा कार्यक्रम मार्फत सहयोग पुर्याएको जानकारी दिनुभयो । हात्ती समस्या समाधानकालागि बाहुण्डाँगी क्षेत्रमा विभिन्न पहलकदमी भएतापनि प्रयाप्त हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय