हाम्रो स्वालम्वीको १२ औँ साधारणसभा, आर्थिक रुपान्तरण र क्षमता विकासमा सहकारीको योग्दान छ : सभामुख

अर्जुनधारा । हाम्रो स्वालम्वी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभा सम्पन्न भएको छ । संस्थाको १२ औं बार्षिक साधारणसभाको झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएका प्रतिनिधिसभाका सदस्य एंव सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको थियो । अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरमा मुख्य कार्यालय रहेको सहकारी संस्थाको साधारणसभा अर्जुनधारा नगरपालिका ३ स्थित आईतबारे बजार क्षेत्रमा मंगलबार आयोजना गरिएको थियो ।


साधारणसभाको उद्घाटनसत्रमा संस्थाकी कार्यवाहक अध्यक्ष राधिका जवेगुले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । जवेगुले ६ करोड ४५ लाख ५६ हजार ९ सय ९२ रुपैँया ७७ पैसाको वासलात सार्वजनिक गर्नुभयो । आ.व २०७८/२०७९ मा ५ करोड ५० लाख ४६ हजार ५ सय ७४ रुपैयाँ ७१ पैसा रहेको संस्थाको पुजी तथा दायीत्व यस बर्ष बढेर आ.व २०७९/२०८० मा ६ करोड ४५ लाख ५६ हजार ९ सय ९२ रुपैँया ७७ पैसा पुगेको कार्यवाहक अध्यक्ष जवेगुले बताउनुभयो ।


संस्थाले आ.व २०७९/२०८०मा २६ लाख ५० हजार ४ सय ८० रुपैयाँ ८७ पैसा खुद नाफा कमाएको कार्यवाहक अध्यक्ष जवेगुको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आ.व २०७८/२०७९ मा १८ लाख ५५ हजार ७ सय ३१ रुपैयाँ ९७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यवाहक अध्यक्ष जवेगुले सहकारी संस्था महिलाहरुलाई स्वालम्वी र आत्मनिर्भर बनाउन सधैं तत्पर रहेको बताउनुभयो । आउँदा दिनमा पनि महिलाहरुको हकहीतमा संस्था सधैँ अघि बडिरहने उहाँको भनाई थियो । संस्थाले आ.व २०७९/२०८०मा सिकानहरुबाट दुध संकलन, रेमिट्यान्स सेवा संचालन, पशुपालक कृषककालागि तालिम संचालन तथा औषधी बितरण, समुह व्यवस्थापन तालिम, हेफर इन्टरनेश्नलको समन्वयमा ८९ जना कृषकलाई अनुदानमा च्यापकटर बितरण, संस्थालाई आवश्य कार्यबिधि निर्माणलगायतका कामहरु गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै रेमिट्यान्स सेवालाई निरन्तरता दिने, दुध संकलन केन्द्रमा संकलित दुधलाई विविधिकरण गर्ने, विद्युतीय प्रणालीबाट हुने विल झक्तानीलाई निरन्तरता दिने, पशुविमा कार्यक्रमको निरन्तरता, संस्थाको निर्माणधिन भवनको निर्माण सम्पन्न गर्ने लगायतका कार्यक्रमहरु आगामी आर्थिक बर्षमा सम्पन्न गर्ने संस्थाले लक्ष्य बनाएको छ ।

२०७९ साल असोज ९ गते दर्ता भएको सहकारी संस्थामा हाल २ हजार ११ जना शेयर सदस्य रहेका छन् । आगामी आर्थिक बर्षमा शेयर सदस्यको संख्य बृद्धी गरि २०५० जना पुर्याइने संस्थाले लक्ष्य लिएको छ । हाम्रो स्वालम्वी सामाजिक उद्यमी महिला सहकारी अन्तर्गत हाल १ सय १७ वटा समुह निर्माण भएको छ । संस्थामा ४ जना स्थाई कर्मचारी र ३ जना अस्थाई तथा ज्यालादारी कर्मचारी कार्यरत छन् ।

वार्षिक साधारणसभाको अवसरमा ३ जना उत्कृष्ट उद्यमी सदस्यहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट दुध उत्पादक उद्यमी तर्फ निर्मलादेवी कार्की फुँयाल, उत्कृष्ट बाख्रा पालक उद्यमी तर्फ तारादेवी तिवारी र उत्कृष्ट तरकारी खेती उद्यमी तर्फ तुलसादेवि ढकाललाई सम्मान गरिएको थियो । सम्मानित सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, नगद र आवश्यक सामाग्री प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले महिला सशक्तिकरण र सामाजिक आर्थिक रुपान्तरणकासाथै क्षमता विकासकालागि सहकारीले धेरै सहयोग पुर्याएको बताउनुभयो । सहकारी क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्न र किसानहरुका हकहीतका पक्षमा आफ्नो तर्फबाट सहयोग भइरहने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सहकारी संचालन गर्दा पारदर्शिता र समानतालाई भने सधैं ख्याल गर्नुपर्ने उहाँको सुझाव थियो ।

सभामुख घिमिरेले आफु झापा क्षेत्र नं. २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने बताउनुभयो । सहकारीको अधुरो रहेको भवन निर्माण र सहकारीले गरेका हरेक सकरात्मक काममा आफ्नो साथ र सहयोग रहने उहाँको भनाई थियो ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीको बिशेष अतिथि रहनुभएको थियो । उहाँले महिलाहरुले संचालन गर्नुभएको सहकारीले अहिले समाजिक र आर्थिक रुपमा धेरैलाई साथ सहयोग र प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव तामाङ, उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा १ का वडाअध्यक्ष उपेन्द्र बस्नेत, ३ का वडाअध्यक्ष सिताराम भट्टराई, अर्जुनधारा नगर समन्वय समिति अध्यक्ष कृष्ण चापागाई, अर्जुनधारा नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राई, कार्यपालिका सदस्यहरु चन्द्रा तामाङ, विमला रोक्का, वडा सदस्य तथा न्यायीक समिति सदस्य शर्मिला सुब्बा, वडा सदस्य सिता सिवा, नारायण चापागाई, सुमन्ता राई लगायतका जनप्रतिनिधिहरु, निवर्तमान नगर उपप्रमुख कमला खतिवडा आचार्य, अभियान नेपाल सहकारी संस्थाका अध्यक्ष लोकमान श्रेष्ठ, साना किसान सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रतिनिधि कमल खनाललगायत अतिथिहरुको उपस्तिथि रहेको थियो । त्यस्तै संस्थाकी व्यवस्थापक शुशिला तामाङ र लेखा संयोजक चन्द्रकला अधिकारीको उपस्तिथि रहेको थियो ।

संस्थाकी संचालक समिति सदस्य कमला आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संस्थाकी सह–व्यवस्थापक सिर्जना मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय