संघीय निजामती ऐनविरुद्ध देशैभर स्थानीय तहका कर्मचारी आन्दोलित, झापामा संघर्ष समिति गठन

अर्जुनधारा । सरकारले जारी गर्न लागेको संघीय निजामती ऐनविरुद्ध देशभरका स्थानीय तहका कर्मचारी आन्दोलित बनेका छन् । संघीय निजामती ऐनको विरोध गर्दै झापाका पालिकाहरुमा कार्यरत कर्मचारी पनि आन्दोलित भएका छन् ।


सरकारले मस्यौदा गरेको संघीय निजामती ऐन स्थानीय तहमा कार्यरत कर्मचारीको हितविपरीत रहेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् । उनिहरुले कर्मचारीको सरुवा, बढुवा, सेवा सुरक्षालगायत एकीकृत निजामती कर्मचरी ऐन बनाउन माग गरेका छन् । राज्यबाट सेवा सुविधा लिएका सबै किसिमका कर्मचारी एकै हुन् भन्ने मान्यता सरकारको हुनुपर्ने असन्तुष्ट कर्मचारीहरुको माग रहेको छ ।

उनिहरुले प्रदेश लोक सेवा, जिल्ला समन्वय समिति र साविक स्थानीय तहबाट समायोजन भएका कर्मचारी भनेर छुट्याएर राज्यले विभेद गरेको बताएका छन् । प्रस्तावित निजामती विधेयकबाट स्थानीय तहका कर्मचारीलाई दोस्रो दर्जाको कर्मचारी बनाउने सरकारको षडयन्त्र भएको आन्दोलित कर्मचारीहरुको आरोप छ ।


असोज ९ गतेबाट देशभरका स्थानीय तहका कर्मचारीहरुले राजधानी केन्द्रीत आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । आन्दोलित कर्मचारीका प्रतिनिधिहरुले असोज ११ गतेसम्म राष्ट्रिय मान्यता प्राप्त दलका नेता र प्रमुख सचेतकलाई आन्दोलनका बिषयमा ध्यानाकर्षण गराई माग पुरा गराउनकालागि अनुरोध गर्ने र राष्ट्रिय स्तरका ट्रेड युनियनसंग समन्वय गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रत्येक पालिकाबाट असोज ११ गते २ जना प्रतिनिधि उपस्थित भई केन्द्रीय संघर्ष समिति बनाउने, माग सम्बोधन नभए असोज १२ गतेदेखि सशक्त आन्दोल सुरु गर्ने, प्रत्येक पालिकाका वडा कार्यालयमा पेनडाउन गर्ने र सिंहदबार अगाडी विरोध प्रदर्शन गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

झापामा संघर्ष समिति गठन

आन्दोलन सफल पार्नकालागि झापामा सोमबार अर्जुनधारा नगरपालिकाको सभाहलमा भएको एक भेलाले २६ सदस्यीय जिल्ला स्तरीय संघर्ष समितिसमेत गठन गरेको छ । जसको संयोजकमा नेत्रप्रसाद पोख्रेल रहनुभएको छ । पोख्रेल भद्रपुर नगरपालिकाका आठौँ तहका कर्मचारी हुन् ।

सोही भेलाले पोख्रेलकै संयोजकत्वमा ९ सदस्यीय सचिवालयसमेत गठन गरेको छ । जसको सहसंयोजकमा चिरञ्जीवी खवास, प्रवक्तामा राजु गिरीलाई चयन गरेको छ भने सदस्यमा निर्मला आचार्य, डेनिस कडरिया, डिल्ली नेपाल, गोविन्द रिजाल, तेजेन्द्र तामाङ र सुनिता सुवेदी चयन हुनुभएको छ ।

कर्मचारी हकहित मञ्च अर्जुनधाराका अध्यक्ष चिरञ्जीवी खवासको अध्यक्षतामा भएको भेलामा झापाका १५ पालिकामध्ये १४ पालिकाका कर्मचारी उपस्थित थिए । भेलाको संयोजन मञ्चका बरिष्ठ उपाध्यक्ष खगेन्द्र लिङदेनले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मञ्चका सचिव सौजन कटुवालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
1
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय