युथ अफ खुदुनाबारीले बनाइदियो लिङदम परिवारको घर

बिर्तामोड । हात्तीले घर भत्काईदिएपछि आवास विहिन बनेको लिङदम परिवारलाई युथ अफ खुदुनाबारीले नयाँ घर बनाइदिएको छ । विभिन्न दाताहरुको सहयोगमा संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ३ कैदले निवासी पेलाबहादुर लिङदमको परिवारलाई आवास निर्माण गरेर हस्तनान्तरण गरेको हो ।


अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा घर हस्तनान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुख्य सहयोगि संस्था सहारा नेपालका प्रथम उपाध्यक्ष छविलाला खतिवडाले रिबन काटेर र घर निर्माण गरिदिने संस्था युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले घरको साँचो प्रदान गरेर घर हस्तनान्तरण गर्नुभएको थियो । स्थानीय सरकारकी प्रतिनिधि नगरउपप्रमुख पराजुलीले ब्यानर वाचन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

अध्यक्ष सिटौलाले पेलाबहादुरकी श्रीमती प्रेमामाया लिङदमलाई घरको साँचो हस्तनान्तरण गर्नुभएको थियो । कार्यक्रममा घरमुली पेला बहादुरलाई सिटौलाले आवास हस्तनान्तरणको प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।


घर निर्माण प्रतिवेदन प्रस्तुत गर्दै उहाँले पेलाबहादुरको घर निर्माणमा ६ लाख ७ सय ७३ रुपैयाँ ५४ पैसा नगद खर्च भएको जानकारी दिनुभयो । त्यस्तै विभिन्न शिर्षकमा दताले प्रदान गरेका जिन्सी प्रयोग भएको उहाँले बताउनुभयो । प्रतिवेदन अनुसार घर निर्माणकालागि दाताहरुबाट ५ लाख ८७ हजार ५७ रुपैयाँ रकम संकल भएको थियो । हाल १३ हजार ६ सय ५७ रुपैयाँ पैसा तिर्न बाँकी रहेको समेत सिटौलाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

सिटौलाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा घर निर्माणकालागि सहारा नेपाल साकोसले नगद २ लाख रुपैयाँ सहयोग गरेको उल्लेख छ । त्यस्तै अर्जुनधारा नगरपालिकाले ४३ हजार सहयोग गरेको छ भने नगद सहयोग गर्ने विभिन्न ५४ व्यक्ति तथा संस्थाहरु सार्वजनिक गरिएको थियो । घर निर्माणमा जिन्सी सहयोग गर्ने विभिन्न ३४ व्यक्ति तथा संस्थाहरुको समेत बिवरण सार्वजनिक गरिएको थियो । ३ वटा कोठा भएको नवनिर्मित घरको डिजाइनकालागि इन्जिनियर लक्ष्मी आलेले प्राविधिक सहयोग गर्नुभएको प्रतिवेदनमा उल्लेख छ

घर निर्माणकालागि २ लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने संस्था सहारा नेपाललाई कार्यक्रममा सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै स्थानीय सरकार अर्जुनधारा नगरपालिका र अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालयलाई पनि सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । सो अवसरमा अध्यक्ष सिटौलाले देश–विदेशमा रहेर पेलाबहाखुर लिङदमको घर निर्माण अभियानमा जोडिएर नगद तथा जिन्सी सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष सिताराम भट्टराईले पेलाबहादुर लिङदमलाई ढाकाटोपी लगाई दिनुभएको थियो भने पेलाबहादुरकी श्रीमती प्रेममाया लिङदमलाई दोसल्ला ओढाई दिनुभएको थियो ।

कार्यक्रममा अर्जुनधाराकी कार्यपालिका सदस्य चन्द्रा तामाङ, सहारा नेपालका संचालक सदस्य, भोला धिताल, निर्देशक लक्षुमण खतिवडा, वडासदस्य नारायण चापागाई, किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङ, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाका अध्यक्ष मुकुन्द भण्डारी, कैदले खानेपानी उपभोक्ता समितिका अध्यक्ष ढुंण्डीराज गौतम, सुखानी सामुदायीक वन समुहका अध्यक्ष मंगलसिंह लिम्बु, कैदले पर्यापर्यटन उपाध्यक्ष दिपक दुलाल, फाल्गुनन्द मिङसो माङहिमका अध्यक्ष लक्ष्मी इङ्नाम लगायत विभिन्न संस्थाका प्रतिनिधि तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो । संस्थाका सल्लाहाकार दिपक दुलालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव आनन्ददेव कट्टेलले गर्नुभएको थियो ।

यसरी बन्यो लिङदमको घर 

२०७९ साल फाल्गुन महिनाको ११ गते राति करिब १२ बजे हात्तीले घर भत्काईदिएपछि अर्जुनधारा नगरपालिका वडा नम्बर ३ कैदले निवासी पेलाबहादुर लिङदमको परिवार आवास विहिन बन्यो । साधारण टाटीबेराको घरमा बस्दै आएका लिङदम परिवार कम्जोर आर्थिक अवस्थाको शिकार त थियो नै हात्तीले घर समेत भत्काइदिएपछि आवास विहिन बनेर विचल्ली हुने अवस्थामा पुगेको थियो ।

लिङदमको गाउँमा हात्तीको आक्रमण अनौठो भने हैन्, उनको गाउँ र आसपसका जुकेखाडी सुखानी लगायतका गाउँमा बेला–बखत हात्तीले आतंक नै मच्चाउने गरेको छ । लिङदमको घर हात्तीले भत्काएको खबर पाएपछि भोलिपल्ट बिहानै युथ अफ खुदुनाबारी संस्थाका अध्यक्ष मनोज सिटौला नेतृत्वको टोलि स्थानिय जनप्रतिनिधि (अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष) सिताराम भट्टराईसमेतलाई लिएर लिङदम परिवारको भत्किएको घर पुगेका थिए ।

तत्कालै मर्मत गर्दा समेत बस्न योग्य नहुनेभएपछि नयाँ घर निर्माण गरिदिएर लिङदम परिवारको पीडामा मल्हम लगाउने अध्यक्ष सिटौलासहित युथ अफ खुदुनाबारीले संकल्प गरेको थियो । युथ अफ खुदुनाबारी पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न कार्य गर्दै आएको युवाहरुको संस्था हो । संस्थामा आर्थिक स्रोत नभएपनि दाताहरुसंग समन्वय गरेर घर निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ युथ अफ खुदुनाबारीले पेलाबहादुर लिङदमको घर निर्माण सुरु गरेको थियो । २०८० साल बैशाख १ गते शिलन्यास भएको घर निर्माणको सम्पुर्ण काम सकेर लिङदम परिवारलाई शनिबार हस्तनान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
0
+1
0
245
सम्बन्धित

लोकप्रिय

लोकप्रिय