इलामको पाथीभरामा ७ महिनामा १ करोड बढी भेटी संकलन, छानविन प्रतिवेदन अझै सार्वजनिक भएन

इलाम । रोङ गाउँपालिकाले स्वामित्वमा लिएपछि इलामको सानो पाथीभरा मन्दिरमा ७ महिना ३ दिनमा एक करोड छ लाख ११ हजार तीन सय ४४ रुपैयाँ भेटी सङ्कलन भएको छ ।


रोङ गाउँपालिका-३ मा रहेको पाथीभरा मन्दिरमा गएको १ फागुनदेखि ३ असोजसम्म संकलन भएको रकम पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा ९७ लाख ५६ हजार पाँच सय ८४ रुपैयाँ नगद र आठ लाख ५४ हजार सात सय ६० रुपैयाँ बराबरको जिन्सी संकलन भएको भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिनुभयो ।


समितिका अनुसार फागुनमा १६ लाख ६८ हजार छ सय ६२ नगद र दुई लाख २५ हजार बराबरको जिन्सी, चैतमा २० लाख २१ हजार सात सय ६१ नगद र ८४ हजार छ सय ६० बराबरको जिन्सी, वैशाखमा २० लाख ८० हजार पाँच सय नगद र एक लाख बराबरको जिन्सी, जेठमा १७ लाख छ हजार दुई सय ९९ नगद र दुई लाख ७० हजार सात सय बराबरको जिन्सी सङ्कलन भएको छ ।

त्यस्तै असारमा १० लाख २७ हजार सात सय २६ नगद र ८४ हजार बराबरको जिन्सी, साउनमा चार लाख ४२ हजार पाँच सय २८ नगद र २१ हजार जिन्सी, भदौमा सात लाख ५५ हजार आठ सय ७४ नगद र ६९ हजार चार सय जिन्सी र असोज ३ गतेससम्म ५३ हजार एक सय २० रुपैयाँ रकम सङ्कलन भएको हो ।

पाथीभरा मन्दिरमा संकलन भएको रकम त्यही ठाउँको विकासमा खर्च गरिने गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो सुवासले बताउनुभयो । उहाँले गाउँपालिका सधै पारदर्शीता र सुशासनको पक्षमा रहेको बताउनुभयो ।

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको उक्त मन्दिरको संचालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याईएको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याईएको हो ।

 छानविन प्रतिवेदन अझै सार्वजनिक भएन

यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शी रुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परिसकेको छ । सो सम्बन्धमा छानविन समिति समेत गठन भएको थियो । तर छानविन समितिले प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएपनि सार्वजनिक गरेको छैन । छानविन प्रतिवेदन सार्वजनिक नभएपछि गाउँपालिकाले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा ८८ लाख ८३ हजार एक २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग नगद मौज्दात रहेको दावी गरिएको छ । त्यस्तै १७ लाख ६६ हजार नौ सय नौ रुपैयाँको बैंक मौज्दात भेटिएको उल्लेख छ । अध्ययन प्रतिवेदन प्राप्त कागजातका आधारमा मात्र तयार गरिएकाले कागजी विवरण भन्दा बाहिर पनि कारवबार हुनसक्ने सम्भावना प्रसस्तै रहेको छानबिनमा गाउँपालिकाको तर्फबाट सहभागी चार्टर एकाउन्टेन प्रज्वल अधिकारीले बताउनुभयो ।

यता स्थानीय सरोकारवालाहरुले सात महिनामा १ करोड बढी भेटी संकलन भएको पाथीभरामा करोडौं भ्रष्टाचार भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । अध्ययन प्रतिवेदन अनुसार पुरानो समितिले ५ वर्षमा ३ करोड मात्र भेटी संकलन गरेको देखिएको छ । पुरानो समिति र नयाँ समितिले संकलन गरेको रकममा अन्तर धेरै देखिएकाले पुरानो समितिबाट करोडौं रकम हिनामिना भएको आशंका स्थानीय सरोकारवालाहरुको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय