ब्राउन सुगरसहित ३ जना भारतीय भद्रपुरबाट पक्राउ

झापा । झापाको भद्रपुरबाट तीन जना भारतीय नागरिक अहिलेसम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । बरामद गरिएको १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा धेरै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।


मंगलबार दिउँसो १ः३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं ८ स्थित एयरपोर्ट अगाडि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टेलिजेन्स टोली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा दार्जिलिङको नक्सलबारी थाना बस्ने २८ वर्षीया कल्याणी बर्मन र सोही ठाउँकी २८ वर्षीया राधा सिंहलाई शंका लागेर चेकजाँच गर्दा दुवै जनाको साथबाट १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो ब्राउनसुगर नक्सलबारी थाना बस्ने २४ वर्षीय कल्याण बर्मनको भएको र उनी काँकरभिट्टामा बसेको भनी खुलाएपछि उक्त स्थानमा प्रहरी टोली खटिएर बर्मनलाई समेत नियन्त्रणमा लिएको थियो ।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय