आज जनै पूर्णिमा र गाईजात्रा पर्व मनाइँदै

झापा । आज जनै पूर्णिमा । सनातन हिन्दू धर्मावलम्बीहरुले जनै फेर्ने तथा रक्षा बन्धन गरी यो पर्व मनाउँदै छन् । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन तागाधारी समुदायले यज्ञोपवित धारण गर्ने चलन छ ।


आज विहानै नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै लगाउने तथा हातमा रक्षाबन्धन बाँध्ने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै तथा रक्षा बन्धन धारण गर्ने गरिन्छ । जनै तथा रक्षाबन्धन धारण गर्दा नकारात्मक तत्वबाट प्राप्त हुने धार्मिक विश्वास छ ।

जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भन्ने गरिन्छ । विभिन्न नदि तथा मन्दिरहरुमा आज विहानैदेखि नयाँ जनै फेर्न तथा रक्षा बन्धन गर्नेहरुको भीड लागेको छ ।


आजको दिन रक्षा बन्धन गरिसकेपछि विभिन्न किसिमका गेडागुडीहरुको मिश्रण क्वाँटी खाने चलन पनि छ । यो पर्व तिथिमा आएको गडबडीका कारण जनै पूर्णिमाको भोलिपल्ट मनाईने गाइजात्रा पनि आजै मनाउनु पर्ने पंचाङ्ग निर्णायक समितिले जनाएको छ । पूर्णिमा तिथि विहान ७ बजेसम्म मात्रै रहेकाले रक्षा बन्धन गरी आजै गाईजात्रा पर्वको कर्म गर्नुपर्ने समितिको सुझाव छ । हिजो दिनभर पूर्णिमा पर्व रहे पनि पूर्णिमासंगै भद्रा पनि रहँदा हिजो रक्षा बन्धन गर्नु शुभ नहुने भएकाले आजै रक्षा बन्धन तथा गाइजात्रा पर्व परेको हो ।

विशेषगरी उपत्यका देशभरका नेवार समुदायले वर्षभरि दिवंगत भएका आफन्तजनको सम्झनामा आज गाईजात्रा निकाल्ने गर्दछन् । तराइ क्षेत्रमा भने आज रक्षा बन्धनसंगै राखी बाँध्ने चलन पनि छ । दिदीबैनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय