एशिया कप : पाकिस्तानसँग नेपाल फाराकीलो अन्तरले पराजित

काठमाडौं । पाकिस्तानविरुद्ध जितका लागि ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गर्दै २३८ रनले पराजित भएको छ। मुल्तान क्रिकेट रंगशालामा भएको खेलमा जितका लागि ३४३ रनको लक्ष्य पाएको नेपालले २३ ओभर ४ बलमा अल आउट हुँदै जम्मा १०४ रनमात्र बनाएपछि विशाल रन अन्तरले पराजित भएको हो।


शाहीन अफ्रिदीको पहिलो र दोस्रो बलमै चौका प्रहार गर्दै सशक्त सुरुवात गरेका कुशल भुर्तेल ब्यक्तिगत ८ रनमा बनाउँदै ५ औँ बलमा क्याच आउट हुन पुगे। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि पहिलो बलमै अफ्रिदीको बलमा आउट हुन पुगे।

पहिलो ओभरमै २ विकेट गुमाएको नेपालले दोस्रो ओभरमा अर्का आशिफ शेखलाई गुमाउन पुग्यो। शेख ५ रन बनाउँदा क्याच आउट हुन पुगे। नेपालका लागि सर्वाधिक रनको योगदान सोमपाल कामीले गरे। उनले ४६ बल खेलेर ४ चौका हान्दै २८ रन बनाए। आरिफ शेखले ३८ बल खेलेर २६ रन हिर्काए। उनले यस क्रममा ५ चौका प्रहार गरे।


गुल्शन झाले २३ बलको सामना गरेर १ छक्का हान्दै १३ रन बनाए। यसबाहेक कुनै पनि नेपाली खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। दिपेन्द्रसिंह ऐरीले ३‚ कुशल मल्लले ६ रन बनाए भने करण केसी ७ रनमा अविजित रहे। ललित राजवंशी शून्यमा आउट भए।

घरेलु टोली पाकिस्तानका लागि स्पिनर शादाब खानले ४ विकेट लिए भने शाहीन अफ्रिदी र ह्यारिस रउफले २र२ विकेट तथा नसिम शाह र मोहम्मद नवाजले १र१ विकेट लिए। एशिया कपको उद्घाटन खेलमा कप्तान बाबर आजम र इफ्तिखार अहमद दुवै जनाले शतक प्रहार गर्दा पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको लक्ष्य दिएको थियो।

मुल्तानमा जारी समूह ‘ए’ को खेलमा घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो। पाकिस्तानको इनिङमा विश्व वरीयताको नम्बर एक ब्याट्सम्यान आजमले र इफ्तिखारले शतक बनाए। इफ्तिखारले करियरकै सर्वाधिक रन बनाएका छन्। उनले यसअघि न्युजिल्यान्डविरुद्ध ९४ रन बनाएका थिए।

दुवैले चौथो विकेटको लागि १३० बलमा २१४ रनको सुदृढ साझेदारी गरेका थिए। आजमले १३१ बलमा १५१ रन बनाए। इनिङ सकिनु २ बल बाँकी रहँदा उनी सोमपालको बलमा सन्दीप जोराबाट क्याच भए। इफ्तिखारले ७१ बलमा अविजित १०९ रन बनाए।

आजमले इनिङको ४१ ओभर २ बलमा करियरको १९औं शतक प्रहार गरे। उनले १० चौका प्रहार गरे। उनले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीको बलमा २ रन हान्दै शतक बनाए। यसअघि टस हारेर बलिङ गरेको नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए।

करणले ५ दशमलव ३ ओभरमा विश्व नम्बर एक वरीयताका ओपनर फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए। फखरले २० बलमा ३ चौकासहित १४ रन बनाएका थिए।

६.१ ओभरमा पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमाम उल हकलाई गुमायो। हक व्यक्तिगत ५ रन बनाएर रन आउट भए। नेपालका कप्तान रोहितकुमार पौडेलले हकलाई सिधा थ्रो गरेर रन आउट गराए। फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरे।

तेस्रो विकेटको रुपमा पाकिस्तानले अनुभवी मोहम्मद रिज्वानलाई गुमायो। ५० रनमा ४४ रन बनाइरहेका रिज्वानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गरे। इनिङको शुरुमा पाकिस्तान लगातार रन आउट हुँदा दबाबमा आएको थियो।

रिज्वान र कप्तान बाबरले तेस्रो विकेटको लागि १०७ बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो। चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो। उनले १४ बलमा ५ रन बनाएर खेलिरहेका आगा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच गराए।

नेपालले आजको खेलबाट एशिया कपका डेब्यू गरेको छ। नेपालले गत वैशाखमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एशिया कप खेलेको हो। नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानको सामना गरेको हो। पाकिस्तान हाल आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ।

सन् १९८४ बाट सुरु भएको एशिया कप खेल्ने नेपाल आठौं राष्ट्र हो। यसअघि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान‚ हङकङ र संयुक्त अरब इमिरेट्स ९युएई० ले एशिया कप खेलेका थिए। नेपालले दोस्रो खेल सोमबार भारतसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय