२४ औं स्थापना दिवसको अवसरमा फोनिज झापाको अन्तरसंवाद कार्यक्रम

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्य बिषयमा अन्तरसंवाद समेत भएको थियो ।


फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष तथा प्रमुख अतिथि कमन देवानले नेपालमा ३५ सय आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध भएको बताउनुभयो । उहाँले ८ वटा मुलुकमा फोनिजले संगठन बिस्तार गरेको समेत जानकारी दिनुभयो । देवानले आदिवासी जनजातिको पहिचान रक्षाको सन्दर्भमा फोनिजले खेलेको भुमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । उहाँले अहिले भइरहेको पहिचानको आन्दोलनमा फोनिज कर्मीहरुले स्प्रस्ट रुपमा पहिचानको पक्षमा कलम चलाउनु पर्नेमा जोडदिनुभयो ।


त्यस्तै कार्यक्रमका बिषेश अतिथि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले फोनिज र नेफिनबिच विभिन्न अन्तरसंवाद भइरहेपनि आवश्यक समन्वय भने हुन नसकीरहेको बताउनुभयो । उहाँले नेफिन फोनिजसंग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको धारणा राख्नुभयो । चौधरीले कोशी प्रदेश नाम खारेजीकालागी भइरेको आन्दोलनमा राजनैतिक दलहरुले अझैपनि विवेक पुर्याउन नसकेको बताउनुभयो । उहाँले राजनैतिक दलहरुलाई सच्चिन आग्रह गर्दै पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुको विकल्प नभएको बताउनुभयो । चौधरीले सबै पहिचान पक्षधरलाई एक जुट हुन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश समितिका महासचिव शुसन राईले पहिचान विरुद्धमा प्रदेशको नामकरण हुँदा मत हाल्ने सबै राजनैतिक दललाई एउटै आँखाले हेुर्नपर्ने धारणा राख्नुभयो । उहाँले ठुला दलहरुले पहिचान पक्षधरलाई वेवास्ता गर्दै गरिएको प्रदेशको नामकरण स्वीकार्य हुन नसक्ने बताउनुभयो । अहिले पहिचानको विरुद्ध मतदान गरेका केही राजनैतिक दलहरुले गल्ति भएको स्वीकार गरेपनि सदनमा भने पहिचानको पक्षमा आधिकारीक धारणा राख्न नसकेको बताउनुभयो ।

कार्यक्रममा फोनिज(तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको बिषय तथा उदेश्य प्रस्ट पार्नुभएको थियो । उहाँले पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्यमा जोड दिदै अवको मार्ग तय गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहाकार अनिल देव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरिमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहाकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्वाङ्ग, फोनिज(तत्कालीन अनिज)झापाका संस्थापक सचिव इन्द्रसिंह राजवंशी, पूर्व अध्यक्षहरु रमेश समदर्शी राई, गणेशमान मुखिया, बिशाल नेम्बाङ्ग, नेपाल तामाङ घेदुङ झापा जिल्ला अध्यक्ष जगत तामाङ, आदिबासी जनजाति महासंघ बिर्तामोड नगर सचिव सन्तोष बेघा, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ्ग, इन्जिनियर प्रभास थापा मगर, रोट्रयाक्ट क्ल्व बिर्तामोडका पूर्व प्रेसिडेन्ट राज मुखिया लगायतको उपस्तिथि रहेको थियो ।

फोनिज झापाका जिल्ला कार्य समिति सदस्य सुरेश आले (सर्जु) ले शब्दद्वारा स्वागत गर्नुभएको कार्यक्रमको संचालन फोनिजका जिल्ला सचिव तिलक योञ्जनले गर्नुभएको थियो ।

कार्यक्रममा फोनिज संघीय समितिद्वारा प्रकाशित नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ बिशेष स्मारिका पुस्तक समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
350
सम्बन्धित

लोकप्रिय

लोकप्रिय