स्कुल बसको ठक्करबाट आठ वर्षीया समीक्षाको मृत्यु

झापा । झापाको बुद्धशान्तिमा आइतबार बिहान कर्णाली एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिएर गम्भीर घाइते भएकी ८ वर्षीया समीक्षा बस्नेतको मृत्यु भएको छ।


आफन्त पोषराज कटुवालका अनुसार समीक्षाको गएराति १ बजेतिर मृत्यु भएको हो । समीक्षाको मृत्यु भएको बिएन्डसी अस्पताल, बिर्तामोडले पुष्टि गरेको छ ।

गम्भीर घाइते समीक्षाको पेट क्षतविक्षत भएर आन्द्रा बाहिर निस्केको थियो । समयमै अपरेसन गरिएको र चिकित्सकले अथक प्रयास गरे पनि समीक्षालाई बचाउन असम्भव भएको आफन्त कटुवालले बताउनुभयो।


आमा रिता बस्नेतले हाँकेको साइकलको पछाडि बसेकी उनलाई झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित जयपुर–बुधबारे सडकखण्डमा सो बसले ठक्कर दिएको थियोे ।

दुर्घटनामा समीक्षासहित ३५ वर्षीया आमा रिता र ५ वर्षीय भाइ सन्दीप घाइते भएका छन्।

उनीहरूको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । रिता र सन्दीपको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । रिताको बाँयापट्टी कम्मरमा र सन्दीपको बाँयाखुट्टामा चोट लागेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काका अनुसार बस चालक बुद्धशान्ति-१ का ३५ वर्षीय मदन घिमिरेलाई इलाका प्रहरी कार्यालय बुधबारे हिजो नै नियन्त्रणमा लिइसकेको छ।

लापरवाही गरी बस चलाउने घिमिरेविरुद्ध आज इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिने कटुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय