काठमाडौँ । काठमाडौँको सामाखुसी खोलामा खसेर ११ दिनअघि बेपत्ता भएका १३ वर्षीय बालक साजन मगरको शव बिहीबार दक्षिणकालीस्थित बागमती नदीमा भेटिएका छन्।
साउन ७ गते सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि फेला परेका हुन्।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको थियो।
फर्पिङ प्रहरीका अनुसार ती बालक बिहीबार दक्षिणकालीको बागमती नदीमा भेटिएका हुन्।
काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए।