अर्जुनधारामा पूर्वाञ्चल क्यान्सर अस्पतालको सचेतना कार्यक्रम


झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले झापाको अर्जुनधारामा क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम संचालन गरेको छ । झापाका स्थानीय तहहरुमा सचेतना कार्यक्रम र स्वास्थ्य शिविर संचालन गर्ने अभिप्रायले अस्पतालले आज अर्जुनधारामा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

अर्जुनधारा नगरपालिकाको सभाहलमा भएकोे कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले क्यान्सर रोग र त्यसको उपचार सम्बन्धि प्रशिक्षणत्मक प्रस्तुति दिनुभएको थियो । सो क्रममा उहाँले बिर्तामोडमा संचालनमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले उपचार, सचेतना र रोकथामका लागि गरिरहेको बिभिन्न कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो ।


उहाँले विश्वमा नै क्यान्सर रोग मानव मृत्युको तेस्रो कारण भएको उल्लेख गर्नुभयो । सबैभन्दा धेरै दुर्घटनाबाट मानव मुत्यु भइरहेको र दोस्रोमा मुटु रोगबाट मृत्यु हुने गरेको तथ्याङकले देखाएको डा. यादवको भनाई थियो । झापा नेपालमै दोस्रो धेरै क्यान्सर रोगि भएको स्थान भएको समेत उहाँले जानकारी गराउनुभयो । डा.यादवले रोग लाग्दैमा निरास हुननपर्ने बताउदै अहिँले नेपालमानै क्यान्सरको सहज उपचार सम्भव भएको बताउनुभयो । रोग लाग्न नदिनु नै सबैभन्दा महत्वपूर्ण भएको बताउदै उहाँले सचेतना प्रवाह गरेर ६० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अत्याधुनिक प्रविधिसहितको क्यान्सर रोगको उपचार अहिले अस्पतालले प्रवाह गरिरहेको बताउनुभयो । झापाका स्थानीय तहमा सचेतना कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै गिरीले स्थानीय तहसँग अस्पताल सहकार्य तथा हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले क्यान्सर रोगका बारेमा स्थानीय सरकार सजग बन्दै बेलैमा सचेतना जगाउने कार्यक्रम ल्याउन लागि पर्ने बताउनुभयो । नगर प्रमुख गोम्देनले लापरबाही र असावधानीका कारण प्राणघातक रोगको सिकार बन्नुपरेको धारणा राख्नुभयो । क्यान्सर रोगलाई जितेर नगरबासी फेरि रोजगारमा फर्कनसक्ने वातावरण तयार गर्न नगरले कार्यक्रम ल्याउने गोम्देनले प्रतिवद्धता जनाउनुभएको थियो ।

अस्पतालकी निर्देशक डा.अञ्जली कार्की प्रसाईंले बिषेश गरेर क्यानसरबाट महिलाहरु धेरै पिडीत हुने गरेको सुनाउनुभयो । उहाँले क्यानसर हुन नदिन र त्यसबाट बच्न समय समयमा क्यानसर सम्बन्धिका स्वास्थ्य परिक्षण गर्न सुझाव दिनुभयो । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पताल र बि एण्ड सी अस्पताल संगसंगै रहेकाले पनि उपचार प्रक्रिया सहज भएको बताउनुभयो । डा.कार्कीले स्थानीय सरकारले समयसमयमा बिभिन्न कार्यक्रमहरु संचालद गर्दै नागरिकलाई सजग बनाउन आग्रह गर्नुभएको थियो । त्यसका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा क्यान्सर मुक्त भएका र रोगसँग संघर्ष गरिरहेका बिरामीसँग भेटघाट कार्यक्रम समेत राखिएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएर क्यान्सर मुक्त भएका तथा उपचाररत १४ जना कार्यक्रममा सहभागी थिए । उनिहरुलाई सम्मान स्वरुप अस्पतालले मायाको चिनो बितरण गरेको थियो ।

अस्पतालकी निर्देशक डा.कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमार राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्यलगायत नगरमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय