हात्ती आक्रमणबाट घाइते अर्जुनधाराकी इक्साको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

अर्जुनधारा । हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बूको उपचारमा आर्थिक अभाव भएको छ ।


छिमेकी आफन्तको घरमा पाँच दिनअघि रातको ३ बजेतिर उनी हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको बिर्तामोडस्थित बीएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको उपचारमा छ लाखदेखि आठ लाख रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार घाइते इक्साको कम्मरमा हात्तीको दाह्राले घोचेकाले गहिरो प्वाल छ भने देब्रे कान चुँडिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका अनुसार उनको फोक्सोमा पानी जम्न थालिसकेको छ भने छातीको एउटा करङ भाँचिएको, हातको पाता खुस्किएको र हड्डी चोइटिएको छ ।


‘चिकित्सकले तत्काल तीन शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको थियो’, गिरीले भने, ‘दुई शल्यक्रिया भइसकेको छ, पेटबाट अत्यधिक रक्तश्राव भइरहेका कारण अर्को शल्यक्रिया आइतबार मात्र गरिने भएको छ ।’

स्थानीय तथा वडा नं. ३ का वडासचिव खगेन्द्र लिङ्देनका अनुसार खुदुनाबारीको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत इक्साका बुवा पहलमान लिम्बूको यसअघि नै निधन भइसकेको छ भने आमाले दोस्रो विवाह गरेर गएको हुँदा हाल उनी ९४ वर्षीया हजुरआमाको संरक्षणमा बस्दै आएकी छन् ।

‘घरको आर्थिक अवस्था दयनीय छ’, लिङ्देनले भने, ‘घाइतेको अवस्था गम्भीर रहेका कारण उपचारमा आर्थिक अभाव तगारो बन्ला कि भन्ने देखिएको छ, त्यसैकारण स्थानीय युवा भाइहरुले आर्थिक सहयोग अभियान चलाइरहनु भएको छ ।’

अस्पतालमा औषधिसहित हालसम्ममा चार लाख खर्च भइसकेको बताइएको छ । नगरपालिकाले घाइतेको उपचारमा ४० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो ।

सामाजिक संस्था युथ अफ खुदुनाबारीले सामाजिक सञ्जालमार्फत इक्साको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय