लोपन्मुख थाकल जुन तराई भेगमा जलथलमा मात्रै भेटीन्छ

Share :

तिलक योञ्जन, बिर्तामोड। झापाको जलथल जंगल जैविक तथा भौगोलिक विविधताका हिसाबले अत्यन्तै महत्तवपूर्ण जंगलको रुपमा परिचित छ । यो भौगोलिक दृष्टिले अनौठो जंगल पनि हो । यहाँ खोला, खोल्सा, सिमसार, दह, पोखरी, कतै उच्च भूभाग तथा खुला चौर, झोडी र फाटहरु छन् । पहाड र तराई भेगमा हुने प्रायः धेरैजसो वनस्पतिहरु यो जंगलमा भेटिने गरिएको छ ।

नेपालमा पाईने ६ सय वनस्पति मध्ये १५० भन्दा धेरै प्रजातिका रुखहरु यो जंगलमा पाइन्छन्। नेपालको अन्यत्र कमै पाईने लटहर, मालागिरी, वन निवारो, आम्पाते, वन सुपारी, वन सुन्तला, औट्यांगा, चुंयेल, मधु जस्ता दुर्लभ वनस्पतिले जलथल वनको महत्व अझै बढाएको छ ।


पूर्वी नेपालमा अत्यन्त विरलै पाइने थाकल यो जंगलमा पाईने लोपन्मुख प्रजाति मध्ये एक हो । साइकस पेक्टिनाटा वैज्ञानिक नामले परिचित यो वनस्पति तराई भेगमा पाउन मुस्किल छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को ‘रेडलिस्ट’ अन्तर्गत यो लोपन्मुख (भल्नरेवल) प्रजाति हो । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) मा समेत सूचीकृत गरिएका कारण थाकल संसारकै महत्तवपूर्ण वनस्पतिहरु मध्येमा पर्दछ ।

चुरे क्षेत्रमा विरलै भेटिएता पनि तराई क्षेत्रमा हालसम्म जलथल बाहेक अन्य कुनैपनि जंगलमा नभेटीएको वन, कृषी र जलवायु परिवर्तनका बारेमा अध्ययन गर्ने संस्था फरेष्ट एक्सन नेपालका प्रतिनिधि लिलानाथ शर्माले बताउनुभयो ।

शर्माका अनुसार तस्बिरमा देखिएको थाकल डेढ सय बर्षभन्दा पुरानो हो । यो वनस्पति उनीऊ प्रजातिपछि पृथ्वीमा विकास भएको उहाँले बताउनुभयो । कयौं बर्षअघि लोप भईसकेको डाइनोसरको समयमा समेत यो वनस्पित जंगलमा भेटीएको विभिन्न अध्ययनहरुले देखाएको उहाँको भनाई छ ।

फरेष्ट एक्सन नेपालले जलथल जंगलमा विगत दुई बर्षदेखि विभिन्न वनस्पति तथा वन्य जन्तुहरुको अध्ययन तथा अनुसन्धान गरिरहेको छ । संस्थाले जलथल जंगलमा भर्खरै गरेको सर्वेमा १ सय वटा भन्दाबढी साइकस पेक्टिनाटा (थाकल) भेटीएको उहाँले बताउनुभयो ।

शर्माका अनुसार साइकस पेक्टिनाटाका डुकु(मुना)हरु मानिसले खान मिल्ने हुन्छ । यो पाइने विभिन्न देशमा यसको कलिलो पात तरकारीका लागि उपयोग गरिन्छ । यसको बोक्रा र बिउ पिसेर तेल मिसाई बनाएको लेप छाला चिलाउने, फोका निस्केको, दुखेको ठाउँमा लगाउँदा लाभ हुने जानकारहरू बताउँछन्।

वनस्पतिको अवस्था बुझ्ने, समुदायलाई यस्को महत्व, उपयोग लगायतका बारेमा जानकारी गराउने कार्य गर्नाले यस्को संरक्षणमा जोड पुग्ने फरेष्ट एक्सनको सुझाव छ । नर्सरी मार्फत बिरुवा उत्पादन गरेर बिस्तार गर्न सके तराई भेगमा अन्यत्र कतै नभेटीएको यो थाकलले जलथल जंगलको महत्वलाई अझ बढाउने देखिन्छ ।

यसैबिच, मंगलबार अन्तरास्ट्रिय जैविक विविधता दिवसको अवसरमा पाथीभरा कालिका सामुदायिक वनको आयोजनामा जलथल जंगल सफारी कार्यक्रमको आयोजना गरिएको थियो । जैविक विविधताको महत्त्वलाई दर्साउन यो दिवस विश्वभर मे २२ तारिखमा मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउन थालिएको होे ।

सो अवसरमा सञ्चारकर्मी, जनप्रतिनिधि, सामुदायीक वन महासंघका प्रतिनिधि, फरेष्ट एक्सन नेपालका प्रतिनिधि, विभिन्न वन समूहका प्रतिनिधि, प्रहरी, युवा तथा स्थानीय बासीन्दाले जंगलको स्थलगत अवलोकनगर्दै पदयात्रा गरेका थिए ।

जंगल अवलोकनका क्रममा फरेष्ट एक्सन नेपालका प्रतिनिधि लिलानाथ शर्मा र मुना भट्टराईले वनस्पतिहहरुका बारेमा जानकारी गराउनु भएको थियो । जंगलको अध्ययन अवलोकन तथा जानकारीसंगै प्रचार­प्रसार गर्ने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको पाथिभरा कालिका सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले जानकारी दिनुभयो ।

झापा जिल्लाको दक्षिणपूर्वी भागमा पर्ने जलथल वन हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका तथा भद्रपुर नगरपालिकाको करिब ६ हजार १ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल जलथल वनलाई २२ वटा सामुदायिक वनले व्यवस्थापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय