अर्जुनधारा-३ का १ सय १७ जना महिलाले लिए घरेलु सेनेटरी प्याड बनाउने तालिम

Share :

झापा । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडामा संचालन भएको घरेलु सेनेटरी प्याड बनाउने ५ दिवसीय तालिम समापन भएको छ । ३ नम्बर वडा कार्यालयको आर्थिक व्यवस्थापनमा संचालन भएको तालिमलाई वडा स्तरीय महिला समितिले आयोजना गरेको थियो । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा शनिबार तालिमको समापन गरिएको हो ।

जुकेखाडी सामुदायीक वनको कैदले गृनरी हलमा आयोजना गरिएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई नगर उपप्रमुख पराजुली, ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराई, कार्यापालिका सदस्य चन्द्रा तामाङ, वडा सदस्यहरु नारायण चापागाई, सितादेवि सार्की लगायतले प्रमाण-पत्र बितरण गर्नुभएको थियो । तालिमका सहभागिहरुलाई पमाण-पत्रसंगै उनिहरुले निर्माण गरेको सेनेटरी प्याड र एक/एक थान कैची समेत प्रदान गरिएको थियो ।

५ दिन सम्म संचालन भएको तालिममा १ सय १७ जना महिलाहरुले घरेलु सेनेटरी प्याड बनाउने सिप सिकेको तालिमकी प्रशिक्षक सबिता भुजेलले जानकारी दिनुभयो । उहाँले घरेलु सेनेटरी प्याड हातले सिलाएर घरैमा बनाउन सकिने बताउनुभयो । ६ महिनासम्म पुनः प्रयोग गर्न मिल्ने समेत जानकारी दिनुभयो । उहाँले तालिममा महिला स्वास्थ्य, घरेलु सेनेटरी प्याडको महत्व, उत्पादन बिधि, प्रयोग लगायतका बिषयमा जानकारी प्रदान गरिएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै ३ नम्बर वडाका सचिव खगेन्द्र लिङ्देनले एक जना महिला आफ्नो जिवनभर सामान्यतय ३ सय ८४ पटक महिनावारी हुने जानकारी दिनुभयो । सोही अनुरुप अहिले बजारमा पाईने बिभिन्न प्रकारका सेनेटरी प्याड खरिदमा करिब ४६ हजार खर्च हुने उहाँले बताउनुभयो । तर घरेलु सेनेटरी प्याडको निर्माण सहजै र प्रयोग गर्न समेत उपयुक्त भएकाले आर्थीक रुपमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।

३ नम्बर वडा कार्यालयले चालु आर्थिक बर्षमा विनियोजन गरेको २ लाख ५० हजार बजेट मध्येबाट घरेलु सेनेटरी प्याड बनाउने तालिम संचालन भएको लिङ्देनले जानकारी दिनुभयो । उहाँले सोही बजेट शिर्षक अन्तर्गत क्षमता विकास तथा उद्घोषण तालिम संचालन गर्ने योजना समेत रहेको बताउनुभयो ।

त्यस्तै कार्यपालिका सदस्य चन्द्रा तामाङले महिलाहरुको सहभागिता र उनिहरुको क्षमतामा देखिएको अभिवृद्धीले तालिम प्रभावकारी भएको बताउनुभयो । उहाँले आगामी दिनमा जिवन उपयोगी सिप सिकाउने बिषयलाई थप प्राथमिकता दिने धारणा राख्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि वडाअध्यक्ष सिताराम भट्टराईले विगतका बर्षहरुमा सिलाई बुनाई लगायतका तालिमहरु संचालन भईरहेता पनि यो बर्ष प्रदान गरिएको घरेलु सेनेटरी प्याड बनाउने तालिम अझ बढी प्रभावकारी भएको धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष भट्टराईले तालिमका सहभागिहरुलाई तालिममा सिकाइएको सिपबाट दक्ष भए नभएको भनेर प्रश्न गर्नुभएको थियो । वडाअध्यक्षको प्रश्नको जवाफ दिँदै सहभागिहरुले आफुहरु घरेलु सेनेटरी प्याड बनाउन दक्ष भएको र तालिम समेत प्रभावकारी भएको बताएका थिए ।

त्यस्तै प्रमुख अतिथि पराजुलीले स्थानीय सरकारले संचालन गरेका प्रत्येक तालिमहरु प्रभावकारी बन्नुपर्ने बताउनुभयो । उहाँले तालिमका सहभागिहरुलाई तालिमबाट सिकेको सिपलाई व्यवहारीक जिवनमा प्रयोग गर्न र अरुलाई पनि सिकाउन आग्रह गर्नुभएको थियो ।

वडा स्तरीय महिला समितिकी अध्यक्ष माया राईको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा सहभागिहरु सीता राई र प्रमिला राईले तालिममा सिकेका बिषयहरुमाथी आफ्ना अनुभव राख्नु भएको थियो ।

समिती सदस्य कविता भट्टराईले स्वागत गर्नुभएको तालिमको समापन कार्यक्रमको संचालन समितिकी सचिव शुसिला नेपालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय