झापामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

Share :

झापा । हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन स्वास्थ्य कार्यालय झापाले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । स्वास्थ्य कार्यालय झापाले फागुन ११ गतेदेखि जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गराउने भएको छ । सोही कार्यक्रमको सम्बन्धमा झापाका पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।

जिल्लामा यसबर्ष ९ लाख ९ हजार ५३७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गराउने स्वास्थ्य कार्यालय झापाको लक्ष्य छ ।

यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको छ । यसअघि दुई वटा औषधि कम्तीमा पाँच वर्षसम्म सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।


यसअघि उमेरको आधारमा खुवाइदै आएको हात्तीपाइले रोगविरुद्ध औषधी यसबर्ष भने उचाईका आधारमा खुवाइने जन स्वास्थ्य अधिकृत झापामा विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस बर्ष औषधी खुवाउन ७ सय भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

हात्तीपाइले रोगविरुद्धको औषधी खान हुने र नहुने समुह, औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुराहरु, रोगको परजिवी मुक्त हुन के गर्ने, रोगबाट बच्न कस्तो औषधी सेवन गर्ने र त्यसले के गर्ने, यस अघिको औषधी सेवनको अवस्था, यस बर्ष औषधी खुवाइने लक्षित संख्यालगायतका बिषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।

झापामा दैनिक ज्यालादारी गर्ने मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, शहरीबासी, उच्च वर्ग र सरकारी कर्मचारीहरुले कम औषधि सेवन गर्ने गरेको सर्वेक्षण क्रममा देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । बिभिन्न भ्रम फैलिएका कारण औषधी सेवनमा कतिपयले चासो नदेखाएको उहाँले बताउनुभयो । उहाँले सबै नागरिकलाई अनिवार्य रुपमा औषधी सेवन गर्न आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगर स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट, बिर्तामोडका स्वास्थ्य फोकल पर्सन दीपक सापकोटाले बिर्तामोड नगरको औषधी सेवन सम्बन्धि जानकारी गराउनुभएको थियो । बिर्तामोड नगरपालिकामा मात्रै १ सय ७ जना स्वास्थ्यकर्मी परिचालन हुने बताइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायत करिब २ दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय